काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक वर्षमा स्नातकदेखि विद्यावारिधिसम्मका ९५ हजार ५ सय ४० विद्यार्थीलाई दीक्षित गर्दैछ ।
बिहीबार सम्पन्न त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ६४औँ ग्रेस लिस्ट पारित गर्दै विश्वविद्यालयका विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी गराउने निर्णय गरेको हो ।
विश्वविद्यालयका रजिस्ट्रार रविन्द्र शिवाकोटीका अनुसार २०८२ साल असार १ गतेदेखि २०८३ साल असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीलाई ६४औँ ग्रेस लिस्टमा समावेश गरिएको छ ।
ग्रेस लिस्टमा परेका विद्यार्थीमध्ये ८४ दशमलव ९० प्रतिशत साधारण र १५ दशमलव १० प्रतिशत प्राविधिकतर्फका छन् । त्यसमध्ये एमफिलतर्फ २५३, पोस्ट ग्राजुएट डिप्लोमातर्फ १८४ र विद्यावारिधितर्फ १६६ विद्यार्थी रहेका छन् । संकाय तथा अध्ययन संस्थानतर्फ व्यवस्थापनमा सबैभन्दा धेरै ४३ हजार १४२ विद्यार्थी छन् ।
त्यस्तै, शिक्षाशास्त्रमा १० हजार ५३३, मानविकी तथा सामाजिकशास्त्रमा १५ हजार ४४१ र कानुनतर्फ ३ हजार १ विद्यार्थी रहेका छन् । विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार ६८८, इन्जिनियरिङमा ५ हजार १६०, चिकित्साशास्त्रमा १ हजार ९२०, कृषि तथा पशु विज्ञानमा ४६३ र वन विज्ञानतर्फ १९२ विद्यार्थी रहेका छन् ।
त्रिभुवन विश्वविद्यालयले आगामी पुसमा काठमाडौंमा मूल दीक्षान्त समारोह आयोजना गर्ने तयारी गरेको छ । विद्यार्थीको सहजताका लागि यस वर्षदेखि सातै प्रदेशमा समेत दीक्षान्त समारोह सञ्चालन गर्ने तयारी गरिएको विश्वविद्यालयले जनाएको छ ।