इरान युद्धले खाडीको भविष्य खतरामा, सेफेस्टबाट डेन्जर जोन बन्दै, नेपालीको अवस्था कस्तो ?

170 Shares

काठमाडाैं । इरान युद्धका कारण विश्वमा ऊर्जा संकट देखिन थालेको छ । स्ट्रेट अफ हर्मुज क्षेत्र बन्द गर्ने इरानको निर्णयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य राष्ट्रहरुलाई युद्धपोत पठाउन भनेका छन भने यो युद्धको चपेटोमा नेपाल समेत नराम्ररी फसेको छ । यतिमात्रै नभई लेबनानस्थित नेपाली शान्ति सैनिकको निवासलाई निशाना बनाउदै इजरायलले मिसाइल हानेपछि खतरा अर्को तहमा पुगेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ। 

अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि गरेको सामूहिक आक्रमणका कारण मध्य एसिया आक्रान्त बन्न पुगेको छ । इन्भेष्टमेन्ट सेफेस्ट हेभन अर्थात लगानीका लागि स्वर्ग भनिएको युएईजस्ता क्षेत्र खतराको क्षेत्रमा परिणत बनिरहेका छन् । खाडी राष्ट्रहरु इरान युद्धको चपेटोमा फस्दा धनाढ्यहरुले खाडीबाट निजी जेटमार्फत त्यस क्षेत्र छाडिरहेका छन्। नियमित उडान पनि महंगिएका छन्। जसकारण खाडी क्षेत्रले पाएको समृद्धि, विश्वास र आकर्षण सकिने खतरा बढ्न थालेको छ । यस्तोमा इरान युद्ध लामो समय गएमा यसले खतरा थप बढाउने आंकलन गर्न थालिएको छ।

दुबई, कतार, साउदी अरेबिया, कुवेत, इराकदेखि लेबनानसम्म प्रभावित बन्न पुगेका छन् । यी राष्ट्रमा नेपालीहरु श्रमका निम्ति पुगेका छन् । जसको रोजगारीमात्रै नभई जीवन समेत खतरामा परेको देखिन्छ । मध्यपूर्वको युद्धमा यी राष्ट्रहरु कसरी तानिन पुगे ? पहिले त्यो पढाैं ।

खाडी राष्ट्रहरु इरानविरुद्ध प्रत्यक्ष युद्धमा छैनन् । तर, इरानले यी मुलुकहरुमा नियमितजस्तो मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ । कारण हो, अमेरिकी सैन्य बेस यी राष्ट्रमा तैनाथ हुनु । खाडीका यी मलुकमा अमेरिकी सैन्य बेस छन् । इरानले यी बेसलाई नै केन्द्र बनाएर आक्रमण गरिरहेको दाबी गरिरहेको छ । तर, इरानले हानेको मिसाइल र ड्रोनले नीजि क्षेत्र पनि त्रसित बन्न पुगेको छ । निजी सम्पत्तिमा समेत मिसाइल र ड्रोनहरु हमलामा परिरहेका छन भने सर्वसाधारणले समेत ज्यान गुमाउने स्थिति बन्न पुगेको छ । जसमा १७ लाख बढि संख्यामा रहेका नेपालीहरुको सुरक्षा पनि प्रमुख र अहम विषय बन्न पुगेको छ। 

युद्धको भयावह बढ्दो
लेबनानमा इरानले हिजबुल्लाहलाई निमिट्यान्न पार्ने भन्दै बेरुतलगायतका क्षेत्रमा हवाई आक्रमण गरिरहेको छ । लेबनानस्थित संयुक्त राष्ट्र संघीय शान्ति मिसनका लागि रहेका नेपाली सैनिक बस्ने आवासमा समेत इजरायलले मिसाइल हानेपछि विश्वस्तरमै प्रश्नहरु उठिरहेका छन् । तर, इजरायलले भने यसको विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन् । नेपाल सरकारले इरानलाई दिदै आएको अन अराइभल भीसा बन्द गरेको केहि घण्टामै इजरायलले शान्ति मिसनका लागि रहेका नेपाली सेनाको आवासमा मिसाइल हानेपछि सरकारको निर्णयदेखि अन्य विषयमा समेत प्रश्न उठिरहेका छन् । इजरायलले किन यसरी मिसाइल हान्यो भन्ने प्रश्न र सुरक्षाको विषयमा प्रश्न उठेपछि यो विषयमा युएनले नै औपचारिक रुपमा काम गर्ने भनिएको छ । 

स्ट्रेट अफ हर्मुज बन्दको प्रभाव
इरानले विश्वको २० प्रतिशत बढि ऊर्जा सप्लाइ हुने सामुन्द्रिक बाटो बन्द गरिरहेको छ । इरानले चीन, रुस र भारतका ट्याङ्करबाहेकलाई प्रवेश अनुमति नदिएको चेतावनीसहित अघि बढ्न खोजे आगो लगाइदिने भनिरहेको छ । जसकारण विश्वमै ऊर्जा संकट गहिरिदै गएको छ । युरोपमा प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ भने विश्वभर णै यसको प्रभाव पर्न थालेको छ । स्ट्रेट अफ हर्मुज क्षेत्रबाटै इरानले खोलेको रणनीतिक वारले अमेरिका पनि डरमा देखिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा युद्धपोत पठाउन अपिल गरेपछि विश्वका शक्ति राष्ट्रहरुले शान्ति र वार्ताको अपिल गर्न थालेका छन् । 

इरानी प्रतिक्रिया के छ ?
इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले मध्यपूर्वमा नागरिक वा आवासीय क्षेत्रहरूलाई लक्षित नगरेको दोहो¥याएका छन् र त्यस्ता आक्रमणहरूको जिम्मेवारी अनुसन्धान गर्न तेहरान आफ्ना छिमेकीहरूसँग एक समिति गठन गर्न तयार रहेको बताएका छन्। खाडी क्षेत्रमा भएका हमला अमेरिकी सैन्य बेस लक्षित रहेको दाबी पुष्टी गर्न तेहरानले यस्तो जिकिर गरेपनि मिसाइल र ड्रोनको आक्रमण भने विभिन्न क्षेत्रमा भइरहेको देखिन्छ । यस्तोमा दुबईले आफ्नो स्पेस र जमिनबाट इरानविरुद्धको युद्धमा प्रयोग हुन नदिने दोहो¥याइरहेको छ । भने कतारले पनि युद्ध अन्त्यका निम्ति आह्वान गरिरहेको छ। 

साउदीको शंकास्पद भूमिका
मध्यपूर्वमा युद्धको बादल मडारिनुमा साउदी अरेबियाको भूमिकामाथि भने अनेक शंकाहरु गरिएका छन् । साउदी राजकुमारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा आक्रमण गरे र साउदीले सघाउने प्रतिबद्धता नै जनाएको आरोप लगाउने गरिन्छ । तर, युद्ध शुरु भएपछि इरानले दिएको प्रतिक्रिया र प्रत्याक्रमणपछि भने साउदी पनि रक्षात्मक बनिरहेको स्थिति छ । 

मध्यपूर्वको युद्धमा विभिन्न देश तानिने खतरा कति ?
मध्यपूर्वको युद्धमा विश्वका धेरै देश तानिने खतरा बढ्न थालेको छ । खाडी राष्ट्रहरुलाई ड्रोन सहयोग गर्ने भन्दै युक्रेनले ड्रोनमा सहयोग गर्ने भनेको छ भने अमेरिकाले रुसी तेलमाथि लगाएको प्रतिबन्धलाई ३० दिनका लागि अस्थायी रुपमा निलम्बन गरेको छ । रुसी अर्थतन्त्रमा ३० दिनमा विश्व बजारमा तेल बेच्न सहज बनेमामात्रै पनि रुसले युद्ध क्षमता विकासमा ठूलो फड्को मार्न सक्ने भन्दै युक्रेनले आक्रोश व्यक्त गरिरहेको छ भने युरोपका देशहरुले पनि ट्रम्पको निर्णयको विरोध गरिरहेका छन् । तर, अमेरिकाले यस्ता विषयमा प्रवाह गरेको देखिन्न । इरान युद्धका कारण चलिरहेको विश्वको वैश्चिक राजनीतिले कस्तो मोड लिन्छ भन्ने विषय गम्भिर बन्दै गएको छ । इरानले चीन र रुसको पर्याप्त साथ पाएको र साइबर सूचनामा ठूलो सहयोग पाएको दाबी गरिएको बेला तेहरानले गरेका आक्रमणले पनि खतराको संकेत गरिरहेको छ । तेहरानले प्रहार गरिरहेको मिसाइल र ड्रोनको भण्डारण कति र कस्तो छ भन्ने खुल्न नसकेको बेला इजरायल र अमेरिकाको महंगो प्रविधि र युद्धको खर्चले विश्व अर्थतन्त्र थप खतरामा पर्ने डर पनि उत्तिकै देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार