काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले मतदाताका लागि अपिल जारी गरेको छ। चुनाव नजिकिँदै गर्दा बिहीबार अपिल जारी गरिएको हो । पार्टीका संयोजक ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले संयुक्त अपिल जारी गर्दै राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण र आर्थिक–सामाजिक रूपान्तरणलाई मुख्य एजेन्डा बनाएका छन् ।अपिलमा फागुन २१ गते हुने निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा उल्लेख गरिएको छ। विभिन्न २२ कम्युनिष्ट तथा समाजवादी शक्ति एकीकृत भएर नेकपा गठन गरिएको पनि उनीहरूले जनाएका छन् । आफूहरू ‘व्यवस्था बदलेको शक्ति’ भएकाले अब ‘अवस्था बदल्ने’ प्रतिबद्धता पनि दुई नेताले गरेका छन् ।
संविधान संशोधन र निर्वाचन प्रणाली सुधार
जननिर्वाचित संविधान सभाबाट बनेको संविधानलाई जनअधिकारको दस्तावेज भन्दै त्यसको रक्षा गर्ने तर आवश्यक परिमार्जन संवैधानिक प्रक्रियाअनुसार गरिनुपर्ने धारणा नेकपाले राखेको छ । अहिलेको निर्वाचन प्रणाली खर्चिलो र जटिल रहेको भन्दै यसलाई सरल, कम खर्चिलो र स्थिर सरकार बन्ने गरी सुधार गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ ।
राष्ट्रिय स्वाधीनता र स्थिरतामा जोड
पार्टीले पछिल्लो समय बढ्दो बाह्य हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्ने प्रतिवद्धता दोहोर्याएको छ । संघीयता, समानुपातिक र समावेशी विशेषतासहितको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै समाजवादी लोकतन्त्रतर्फ अघि बढ्ने लक्ष्य राखिएको उल्लेख छ । स्थापित प्रणालीविरुद्ध भइरहेका गतिविधिलाई परास्त गर्दै राजनीतिक स्थिरता कायम गर्ने पार्टीको अठोट रहेको पनि अपीलमा भनिएको छ।
सुशासन, भ्रष्टाचारविरुद्ध कडा कदम
अपिलमा सुशासन र पारदर्शितालाई प्राथमिकता दिँदै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने उल्लेख छ । उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति जाँच गर्ने र अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धता जनाइएको छ । संघीयताको मर्मअनुसार जनताको घरदैलोमै सेवा प्रवाह सुनिश्चित गर्ने र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्य सञ्चालन गर्ने वाचा पनि गरिएको छ ।
विभेद अन्त्य र सामाजिक रूपान्तरण
वर्गीय, जातीय, लैङ्गिक, धार्मिक तथा भौगोलिक विभेद अन्त्य गर्ने र छुवाछुत, छाउपडी, डाइनी–बोक्सी जस्ता कुरीतिविरुद्ध प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिएको छ । पार्टीले ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ आफ्नो दीर्घकालीन लक्ष्य भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र सामाजिक न्याय सुनिश्चित गर्ने समाज निर्माण गर्ने योजना सार्वजनिक गरेको छ ।
उत्पादन वृद्धि र स्वाधीन अर्थतन्त्र
अपिलमा बेरोजगारी, व्यापार घाटा, वैदेशिक ऋण र महँगीलाई अर्थतन्त्रका प्रमुख समस्या औंल्याउँदै कृषि, उद्योग, ऊर्जा र पर्यटन क्षेत्रमा उत्पादन वृद्धि गर्ने योजना अघि सारिएको छ । आयात निर्भरता घटाएर स्वाधीन अर्थतन्त्र निर्माण गर्ने, प्रगतिशील कर प्रणाली लागू गर्ने र वित्तीय क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता दुई नेताले जनाएका छन् । प्राकृतिक स्रोतको संरक्षणसहित दिगो विकास र विपद् व्यवस्थापनमा ध्यान दिने नीति अवलम्बन गरिने पनि दुई नेताले उल्लेख गरेका छन् ।
परराष्ट्र नीति र राष्ट्रिय हित
पार्टीले राष्ट्रिय हित सर्वोपरि राखी समानता, अहस्तक्षेप र पारस्परिक लाभका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने जनाएको छ । असमान सन्धि–सम्झौता खारेज गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा पहल गरिने उल्लेख गरिएको छ ।