बाढी तथा पहिरोले कुन राजमार्ग कस्ता ? यात्रा सहज बनाउन के गर्ने ?

21 Shares

काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्ड एकतर्फी सञ्चालनमा छन् ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानीमा पहिरोका कारण काठमाडौँ–धादिङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा समयअनुसार व्यवस्थापन गरिएको छ । उक्त सडकमा १० टनभन्दा कम क्षमताका मालवाहक सवारीलाई निश्चित समयमा सञ्चालन गर्न दिइएको तथा अवस्था हेरेर अन्य सवारीसमेत सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ क्षेत्रमा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । जिल्लाका मुख्य राजमार्गसमेत बाढीका कारण अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा पहिरोका कारण टोखा–छहरे सडकखण्ड प्रभावित भएको छ । उक्त सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बेलकोटगढी नगरपालिका क्षेत्रमा पनि बाढीका कारण सडक प्रभावित भएको प्रहरीले जनाएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । थाक्रे गाउँपालिका–९ स्थित सोयाङखोलामा पनि त्रिभुवन राजपथ अवरुद्ध छ । त्यस्तै, बेनीघाट रोराङ गाउँपालिका–१० को ज्वाङखोला क्षेत्रमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । ·

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार