१४ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । यसक्रममा उनले सुनसरीको देवानगञ्ज, सिरहा लगायतका स्थानमा भएका घटनाप्रति सरकार गम्भीर र संवेदनशील रहेको भन्दै शान्त कायम राख्न सबैमा अपिल पनि गरेका छन् । उनले घटनाको निष्पक्ष र पारदर्शी छानविन गरी दोषीलाई कानूनी कारबाही गरिने स्पष्ट पारेका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति सरकारका तर्फबाट समवेदना समेत व्यक्त गरेका छन्। साथै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी दिए ।
प्रधानमन्त्रीका अनुसार घटना भएलगत्तै सुरक्षा निकाय घटनास्थलमा परिचालन भई अवस्था नियन्त्रणमा लिन, थप अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सक्रिय रहेका छन् । गृह मन्त्रालयले घटनाको छानबिनका लागि समिति गठन गरिसकेको उल्लेख गर्दै उनले छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास दिलाए ।
उनले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने र जनधनको थप क्षति हुन नदिन सरकार निरन्तर क्रियाशील रहेको बताए। स्थानीय तहमा विश्वासको वातावरण निर्माण गर्न आवश्यक सबै प्रयास भइरहेको उनको भनाइ छ ।