१४ साउन, काठमाडौं । कप्तानगञ्ज घटनाले उग्ररुप लिन थालेपछि गृहमन्त्री सुधन गुरूङ घटनास्थल जान लागेका छन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनाव व्यवस्थापनको प्रयासका लागि गृहमन्त्री गुरूङ सुनसरी जान लागेका हुन् ।
सुनसरीबाट फैलिएको दुई समुदायको तनाव मधेश प्रदेशभर पुगेपछि प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार गृहमन्त्रीलाई सुनसरीतर्फ पठाउने निर्णय गरेका हुन्।
यसअघि बिहीबार दिउँसो वालेन्द्रले गृहमन्त्री गुरुङसहित राष्ट्रिय सुरक्षा समितिको बैठक राखेका थिए । उक्त बैठकले देशभर विग्रिएको शान्ति सुरक्षाको अवस्था सम्हाल्न विशेष पहल गर्ने निर्णय गरेको थियो ।
गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नै पुग्ने भएका छन्। मन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि जाँदैछिन् । उनी यसअघि पनि कप्तानगञ्ज नै पुगेकी थिइन्।
मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
बुधबार मात्रै प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनले दुवै प्रहरीका आईजीपीसँग संवाद गरेका थिए । उक्त संवादका क्रममा दुवै आईजीपीले सुनसरीबाट सुरू भएको तनाव बन्दुकबाट नभई संवादबाटै समाधान गर्नुपर्ने बताएका थिए ।
तर सुधन र बालेनले दुवै गृहमन्त्रीलाई गोली कसले चलाएको मात्रै भनेर सोधेका थिए । दुवैजना समाधानतिर भन्दा गोली चलाएका मानिस खोज्नेतिर केन्द्रित हुँदा सुनसरीको तनाव अब मधेशभर सल्किएको छ। सिरहाको गोलबजारमा २० वर्षीय युवक गणेश यादव बिहीबार मारिएका छन् ।