काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।
प्रतिनिधिसभाको विहिबार बसेको बैठकको सुरुमै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले कप्तानगञ्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र यसको निष्पक्ष तथा विश्वसनीय छानविन हुनुपर्ने माग गरेकी हुन्।
उनले यस घटनापछि प्रधानमन्त्री र गृहमन्त्री मौन रहेको भन्दै यस प्रवृतिको आलोचना समेत गरिन् । नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै उनले सरकारलाई प्रश्न समेत गरेकी छन् ।
कसैको उक्साहट, अफवाह र घृणाको राजनीतिले सामाजिक सद्भाव भत्काउन नसक्ने भन्दै सम्पूर्ण नेपालीलाई सहिष्णुता र शान्तिको पक्षमा एकजुट हुन उनले आह्वान समेत गरेकी छन् ।