
काठमाडाैं । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएसँगै उनी पदबाट स्वतः निलम्बनमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुख्यसचिव अर्यालसहितका अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
यस्तै, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेशकुमार शाक्य, आन्तरिक राजस्व विभागका तत्कालीन उपमहानिर्देशक टंकप्रसाद पाण्डेय, आन्तरिक राजस्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाही, आन्तरिक राजस्व विभागका तत्कालीन शाखा र अधिकृत रवीन्द्रप्रसाद पौड्यालविरुद्ध पनि यस प्रकरणमा भ्रष्टाचार अभियोग लागेको छ।
बहालवाला मुख्यसचिवविरुद्ध नै भ्रष्टाचार मुद्दा लागेको यो सम्भवतः नेपालको पहिलो घटना हो । मुख्य सचिव अर्याल नेपाल टेलिकमको टेरामक्स प्रविधि खरिदको सम्बन्धमा पनि मुछिएका व्यक्ति हुन् । यसबारेमा पनि अख्तियारले अनुसन्धान जारी राखेको छ ।
त्यस्तै स्टिकर छपाईमा भुक्तानी भएको ६ करोड ८४ लाख ४५ हजार ६ सय रुपैयाँ प्रतिवादीहरूबाट जनहीरुपमा असुल उपर गर्नुपर्ने अभियोग पत्रमा छ ।
आपसी मिलेमतो र संलग्नतामा आफूहरूलाई लाभ पुर्याउने र सार्वजनिक संस्था सुरक्षण मुद्रण केन्द्रलाई ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ हानी नोक्सानी पुर्याउने बदनियतले कार्य गरेको अख्तियारको दाबी छ।
प्रतिक्रिया