बानेश्वरमा राखेको शंकास्पद कुकर सेनाद्वारा निष्क्रिय

काठमाडाैं । बानेश्वरको मूल सडकमा शंकास्पद रुपमा छाडिएको प्रेसर कुकर सेनाको टोलीले निष्क्रिय पारेको छ ।

संसद् भवन नजिकैको घुम्तीमा शंकास्पद कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेर निष्क्रिय पारेको हो । त्रास फैलाउनका लागि बम भन्दै उक्त कुकर राखिएको महानगरीय प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक खोल्ने तयारी गरिएको छ ।

एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिस्ट घटकले सोमबार नेपाल बन्दको आव्हन गरेका छन् । त्यही क्रममा केहीबेर अगाडि मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएका थिए । सीसीटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बम कसले किन र के का लागि राख्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया