पाल्पामा मलामी बस दुर्घटनाः ७ जनाको मृत्यु, ८ घाइते

पाल्पा । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

आइतबार बिहान साढे १० बजे तिर लु १ ख ७२७९ नम्बरको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको र ८ जना घाइते भएको हार्थोक प्रहरी चौकीका प्रमुख विष्णु रेग्मीले जानकारी दिए । उनका अनुसार बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो ।

स्थानीयका अनुसार बसमा करिब ३५ जना मलामी सवार थिए । दुर्घटनामा परेकामध्ये ७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको जनाएको छ । बाँकीको अवस्था सामान्य रहेको स्थानीयले जानकारी दिए ।

प्रहरी र स्थानीयसहितको टोलीले घाइतेको उद्धार कार्य गरेको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार