दुर्गा प्रसाईँको मेडिकल कलेजलाई १५ दिनभित्रै सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडाैं । झापाको बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ ।

न्यायाधीश डा.कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले काठमाडौं विश्वविद्यालय काभ्रेपलाञ्चोक र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गर्दै प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो ।

गत चैत १२ गते भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै प्रसाईलाई सम्बन्धन दिन निर्देशनात्मक आदेश दिएको बताइइएको छ ।

सर्वोच्चले १३ वर्षअघि सरकारबाट तोकिएको मापदण्डको पालना पनि गराउन आदेश दिएको छ । २०६८ चैत २४ गते सरकारले मेडिकल कलेजको मापदण्ड र शर्त तोकेको थियो । यस्तै २०७३ मंसिरमा नेपाल मेडिकल काउन्सिलले गरेको स्थलगत निरिक्षण, काठमाडौं विश्वविद्यालयको निरिक्षण टोलीले तोकेको काम पुरा गर्न लगाउन पनि आदेश दिएको छ ।

आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

त्यही रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले आदेश जारी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार